बुटवल। बुटवल कालिका क्याम्पसको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। “Bridging Knowledge & Practice: Management & Social Sciences for Sustainable Localization” विषयक पहिलो राष्ट्रिय सम्मेलन भव्य र सफल रुपमा सम्पन्न भएको हो।
दुई दिने सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालयलगायत देश–विदेशका ख्यातिप्राप्त शैक्षिक संस्थाबाट प्राध्यापक, अनुसन्धानकर्ता तथा नीति विश्लेषकहरूले सक्रिय सहभागिता जनाएका थिए।
सम्मेलन को समापनमा बोल्दै प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रो डा महानन्द चालिसेले सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानहरूले स्थानीयकरणमा दिगोपना पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानहरूलाई प्रकाशन गर्न समेत आग्रह गर्नुभयो।
त्यस्तै त्रिभुवन विश्वविद्यालयका प्रो डा शिव भुसालले शैक्षणिक विधि र अनुसन्धान लाई समाजसँग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो साथै उहाँले समाजका विषयवस्तुलाई पाठ्यक्रममा जोड्नुपर्ने आवश्यकता समेत औल्याउनु भयो । त्यस्तै प्रो. डा. जीवलाल सापकोटाले सम्मेलनमा जल्दोबल्दो विषयका अनुसन्धानहरू प्रस्तुत भएको बताउनुभयो।
सम्मेलनलले सामाजिक विज्ञान र व्यवस्थापन क्षेत्रका सिद्धान्त र व्यवहारबीचको दूरीलाई घटाउँदै स्थानीय तहमा दिगो विकासका लागि ज्ञानको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण बहसको वातावरण निर्माण गरेको क्याम्पसका अध्यक्ष होमबहादुर गलामीले बताउनुभयो ।
कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले सम्मेलनले अनुसन्धान, शिक्षण र नीतिगत अभ्यासबीच सशक्त सहकार्यको सुरुवात गर्ने विश्वास व्यक्त गर्नुभयो।
सम्मेलनको निष्कर्ष तथा कार्ययोजना निकट भविष्यमै सम्बन्धित नीतिगत तहमा पेश गरिनेछ र त्यसले दिगो स्थानीयकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
दुई दिने सम्मेलनमा वैज्ञानिक प्रस्तुतिहरू र अन्तरक्रियात्मक छलफलहरू भएको कार्यक्रम संयोजक कृष्ण पोखरेलले जानकारी दिनुभयो।
News by Nayadisha.com